बर्दिया। गुलरियास्थित चार लेन सडक निर्माणमा ढिलाइ भएको छ। डेढ वर्षअघि निर्माण सक्ने लक्ष्य राखिएको गुलरियास्थित जिल्ला प्रहरी कार्यालयदेखि पशुहाटसम्मको चार लेन सडक अझै नसकिएको हो।
डिभिजन सडक कार्यालय नेपालगन्जको लापरबाहीले करिब २ किमि सडक निर्माण हुन नसकेको हो।बर्दिया र बाँकेको खजुरामा गजुरमुखी निर्माण सेवाले करिब ३० करोडको लागतमा सडक निर्माणको ठेक्का लिएको थियो।
दुवै सडक अहिलेसम्म अधुरै छन्। पहिलो चरणमा कालोपत्र गरिएको ठाउँ खाडल परेर उक्किएको छ। डिभिजन सडक कार्यालयले नियमित अनुगमन नगरेका कारण सडकमा खाडल भएको र समयमा काम नसकेको स्थानीयको आरोप छ।
निर्माण कम्पनीले बेमौसमी वर्षा र चिसोका कारण काममा ढिलासुस्ती भएको बताएको छ। दुई वर्षअघि सक्ने भनिएको सडकमा पटकपटक म्याद थप हुँदै आएको छ।