काठमाडौं। जुम्लाको पूर्वमा पर्ने गुठिचौर गाउँपालिका हुँदै छिमेकी जिल्ला डोल्पा जोड्ने सडक निर्माण हुने भएको छ। साढे दुई करोड लागतमा सो सडक निर्माण हुने भएको हो।
गुठिचौर गाउँपालिका–४ को प्याकुरेबाडा–मुडुरी हुँदै डोल्पा जोड्ने सडक निर्माण हुने भएको छ। डोल्पा जिल्लासँंग व्यापारिक सम्बन्ध विस्तार गर्न, ठूला सवारीको आवत जावतलाई सहज गर्नका लागि उक्त सडक निर्माण गर्न लागिएको बताइएको छ।
गत मंगलबार गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारीले सडकको शिलान्यास गरेका हुन्। चालू आवभित्रै गुठिचौर–४ को प्याकुरेबाडा–मुडुरी हुँदै डोल्पा जोड्ने निर्माण सकिने बताइएको छ। सडक निर्माण गर्न गुठिचौर गाउँपालिकाको एक करोड ३० लाख कर्णाली प्रदेशको समपूरक बजेटबाट एक करोड ३० गरी दुई करोड ६० लाख बजेट छुट्याइएको छ।
प्याकुरेबाडा–मुडुरी, गोठिगाउँ हुँदै डोल्पा जोड्ने सडक हिउँदका लागि निकै उपयुक्त हुनेछ। गुठिचौर गाउँपालिकालाई सबैतिरबाट डोल्पा जोड्नको लागि सडक सञ्जाल विस्तार गर्ने तयारी भइरहेको छ। उक्त सडक निर्माणपछि जुम्ली नागरिकलाई डोल्पा जान छिटो छरितो हुने र व्यापारिक गतिविधि बढ्ने विश्वास गरिएको छ।
सडक निर्माण पहिलो चरण सकिएपछि ग्राभेल तथा स्तरवृद्धिका लागि थप बजेट लगानी गर्न संघ र प्रदेश सरकारलाई माग गरिने भएको छ।