काठमाडौं। पर्वतको कुश्मा नगरपालिकाले सबै वडाका कच्ची सडक कालोपत्रे गर्ने भएको छ। नगरपालिकाले ५० करोड लागतमा वडाका सबै कच्ची सडक कालोपत्रे गर्ने भएको हो।
नगरपालिकाले सघन सहरी विकास कार्यक्रमअन्तर्गत चालू वर्ष प्राप्त गरेको ५० करोड रुपैयाँबाट कुश्माका सबै वडामा रहेका मुख्य कच्ची सडकलाई पक्कि बनाउने योजना अगाडि सारेको छ। सडक कालोपत्रे योजना अनुरुप वडाहरूमा योजना छनोट गर्न सुरु गरिएको छ।
वडाका अध्यक्ष तथा सरोकारवालाले आफ्नो वडाका योजनाको टिपोट गराएका छन्। वडाका योजनाको बारेमा छलफल गर्ने र आवश्यकताका आधारमा योजना छनोट गरी टेण्डर आह्वान गरिने बताइएको छ।
सबै वडाका कच्ची सडक पक्कि बनाएपछि गाउँका बासिन्दालाई सहज हुने, गाउँको बाँझो जमिन उपयोग हुने र तीव्र बसाइँ सराइ रोकिने अपेक्षा रहेको स्थानीयको भनाइ रहेको छ।