दोलखा। सुनकोसी र तामाकोसी नदीमा पुल निर्माण अलपत्र बनेका छन्। दुई वर्षमा निर्माण गर्ने गरी ठेक्का आह्वान भएका पुल पाँच वर्ष बितिसक्दा समेत अलपत्र बनेका हुन्।
४० वर्षअघि निर्माण भएका पुल जीर्ण हुँदै गएका र सडकअनुसारको भार क्षमता थेग्न नसक्ने भएसँगै महाशाखाले दुवै पुलको २०७३ भदौमा ठेक्का सम्झौता गरेको थियो। दुवै पुलको निर्माण जिम्मा नीलगिरि–नेसनल जेभीले पाएका हुन्। तर दुवै पुलको काम अधुरै छन्।
पुल निर्माण गर्नुपर्ने स्थानमा स्थानीय घर टहरा भएर काम सुरु गर्न नसकेको भन्दै गुनासोपछि दोलखाको भीमेश्वर नगरपालिका–५ र वैतेश्वर गाउँपालिका–६ तामाकोसी बजारमा प्रशासन र स्थानीय तहले बलजफ्ती गरेर दुई वर्षअघि नै घर टहरा हटाएका भएपनी पुल निर्माणको काम अहिले सम्म अलपत्र बनेको छ।
७५ मिटर लामो पुल करिब १० करोड रुपैयाँलागतमा डबल लेनको आरसीसी आर्च पुल हो। निर्माण व्यवसायीले विभिन्न बहाना देखाएर काम सुस्त बनाएको पाँच वर्षपछि बल्ल दुईतिरको जिप उठाएको छ। खाडीचौरदेखि चरिकोट सडक खण्ड विस्तारमा ढिलाइ हुँदा यात्रुले सास्ती भोग्नु परेको भन्दै पटक पटक स्थानीयले आन्दोलन गरेका भएपनी निर्माणको काम अलपत्र भएको छ।
सिन्धुपाल्चोकको सुनकोसी नदीमा एकातिरको जप उठाउनेभन्दा थप प्रगति हुन सकेको छैन। सुनकोसी गाउँपालिकातर्फ निजी जग्गा परेको तर त्यसको मुआब्जा दिनु पर्ने भन्दै कामै सुरु हुन नसकेको हो। जग्गाको मुआब्जा वितरण प्रक्रियामा रहेकाले त्यो टुंगोमा पुगेपछि पुल निर्माणले गतिलिने निर्माण कम्पनीले जनाएको छ।