सङ्खुवासभा। प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले सङ्खुवासभा र भोजपुर जोड्ने पुल निर्माण अलपत्र पार्ने निर्माण कम्पनीको ठेक्का रद्ध गर्ने बताएका छन्। राईले सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको अरुण नदीमा निर्माण गर्न लागिएको पुल अलपत्र पार्ने कम्पनीको ठेक्का रद्द गर्ने बताएका हुन्।
उक्त निर्माण हुन लागेको पक्की पुल हिजो बुधवार अनुगमन गरेपछि मुख्यमन्त्री राईले ११ वर्षअघि निर्माण सुरु गरिएको पुल निर्माण गर्ने कम्पनीले काम अलपत्र पारेकाले ठेक्का रद्द गर्नुपर्ने अवस्था आएको बताएका हुन्।
उक्त पुल स्वच्छन्द निर्माण कम्पनीले विसं २०६७ मा निर्माण सुरु गरेको थियो। तर विभिन्न बाहाना देखाउदै बिचमै छाडेर भागेपछी पुल निर्माण अलपत्र बनेको हो।१६७ लामो पुल २०७२ साल असोजमै निर्माण सम्पन्न हुनुपर्ने अहिले सम्म ६ वटा पिलर आधा मात्र उठाइएको छ।
अलपत्र पुलको अनुगमन गर्दै मुख्यमन्त्री राईले डिजाइनअनुसार पुल निर्माण हुन सक्ने अवस्था नभएको भन्दै ठेक्का सम्झौता रद्द गरेर कारबाहीका लागि सङ्घीय सरकारलाई सिफारिस गर्ने बताए।
स्वच्छन्द निर्माण कम्पनीले पुल निर्माण सम्पन्न गर्न भन्दै पछिल्लो पटक २०७७ पुस १३ गतेसम्म म्याद थप गरेको थियो। १४ करोड ७५ लाख ११ हजार रुपैयाँमा सम्झौता भएको पक्की पुलमा अहिलेसम्म तीन करोड ८५ लाख २२ हजार रुपैयाँ खर्च भएको सडक डिभिजन कार्यालय तुम्लिङटारले जनाएको छ।