काठमाडौं। लामो समयको प्रतिक्षा पश्चात् पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र सप्तरीको सीमा जोडिएको बलान नदीमा पुल निर्माण भएको छ। पुल निर्माण भएपछि स्थानीयवासी हर्षित बनेका छन्।
हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीलाई जोड्ने बलान नदी पुल निर्माण भएर सञ्चालनमा आएपछि आवागमनमा सहज भएसँगै स्थानीयवासीमा उत्साह बढेको हो। विगत एक दशकदेखि निर्माणाधीन बलान नदीको पुल निर्माण कम्पनीको लापरबाहीका कारण अलपत्र परेको थियो।
निरन्तरको दबाब र धमाधम हुलाकी सडक कालोपत्र हुन थालेपछि निर्माण कम्पनीले पुल निर्माण अन्तिमचरणमा पुर्याएको सप्तरीको बलान बिहुँल गाउँपालिकाले जनाएको छ। अहिले बलान खोलाको पुल ९५ प्रतिशत काम सम्पन्न भएकाले पुलमाथिबाट आवतजावतसमेत सुरु भइसकेको बताइएको छ।
पुल नहुदाँ वर्षौदेखि वर्षायाममा सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्दै आएका थिए। चार सय ७० मिटर लम्बाई पश्चिमबाट १६ स्पान र पूर्वबाट १२ स्पान रहेको नवनिर्मित बलान नदीको पुलको उद्घाट्न औपचारिक रुपमा नभए पनि निर्माण सम्पन्न भएकाले सवारीसाधन चल्न थालेका छन्।