काठमाडौं। स्याङ्जाको आँधीखोला गाउँपालिका– ३ स्थित फूलबारी–पुवाडाँडा सडक कालोपत्र गरिएको छ। गाउँपालिकाको केन्द्रदेखि सबै वडा कार्यालयसम्म पुग्ने सडक कालोपत्र गर्ने नीतिअनुरुप वडा नं ३ सम्म पुग्ने सडक कालोपत्र गरी सञ्चालनमा ल्याइएको हो।
डेढवर्ष अघि चार करोड ९९ लाख ९८ हजारको लागत अनुमानमा बोलपत्र आह्वान गरिएकोमा चार करोड ३१ लाखमा गीता र क्रियटिभ जेभी स्याङ्जाले सडक निर्माण सम्पन्न गरेको हो। ठेक्का सम्झौता अनुसार पक्की नाली, ट्राफिक सङ्केत र पेन्टिङसहित २.७ किलोमिटर सडक निर्माण गरिएको छ।
गण्डकी प्रदेश सरकारको एक करोड, सङ्घीय सांसद विकास कोषबाट ५० लाख र बाँकी गाउँपालिकाको लागत साझेदारीमा उक्त सडक निर्माण सम्पन्न भएको बताइएको छ। पाँच मिटर चौडाइ रहेको उक्त सडक निर्माण कम्पनीले निर्धारित समयमै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो।