काठमाडौं। काठमाडौं उपत्यकामै सडक नबनाउन ठेकदारले आलटाल गर्लान् भनेर स्थानीयहरू वस्तुभाउको जस्तै गोठालो लाग्दै आएका छन् ।पासाङल्हामु राजमार्गको बालाजु–रानीपौवा खण्डमा स्थानीय आजभोलि गोठालो लागेर सडक निर्माण गराइरहेका छन्।
यतिसम्म कि बुधबार सो क्षेत्रको सडकमा ठेकदार तथा कामदार नदेखेपछि स्थानीय सडकमा उत्रिएर फोहोर बोकेर सिसडोल गइरहेका गाडीलाई हत्त न पत्त अवरोध गर्न पुगे । बिहान ढिलासम्म पनि सडकमा ठेकदार कम्पनी मेसिन र कामदार नदेखिएपछि तारकेश्वर नगरपालिक–३ स्थित तीन पिप्लेका स्थानीयले फोहोरका गाडी रोकेका थिए । केही समयपछि ठेकदार तथा कामदार निर्माण क्षेत्रमा फर्किएर काम थालेपछि अहिले भने फोहोरका गाडीहरूलाई खुला गरिएको छ ।
गत १ फागुनदेखि नै स्थानीयले सडक पिच नभएको भन्दै फोहोर बोकेका गाडीहरूलाई रोकेका थिए । सडक नबनाएको विरोधमा स्थानीयले आन्दोलन गर्दा झन्डै दुई सातासम्म फोहोरका गाडी काठमाडौं उपत्यकामा रोकिएका थिए । जनप्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका प्रमुखलगायत पुगेर ठेकेदारलाई काम थाल्न निर्देशन दिएपछि फोहोरका गाडी सञ्चालनमा आएका थिए ।
आन्दोलन सुरु भएपछि सडकमा तत्कालै मर्मतको काम पनि सुरु भएको छ । स्थानीय भने ठेकेदारले काम छाडेर हिँड्ने हो कि भनेर नियमित रूपमा रेखदेख गर्दै आएको बताउँछन् ।
सडक अवरोध खुलाउने क्रममा नै उनीहरूले जुन दिन सडक कालोपत्रेका लागि भइरहेको तयारीको काम रोकिन्छ, त्यही दिन फोहोर बोकेका गाडी पनि रोकिने सर्त राखेका छन् । एक स्थानीय सडक विस्तारको काममा केही अलमल भएमा फोहोरका गाडी रोकिने बताउँछन् । तारकेश्वर नगरपालिका–३ का वडाध्यक्ष मनोहरी तिवारीले पनि काम रोकिएमा स्थानीयहरूले त्यहीँ समयदेखि फोहोरका गाडी चल्न अवरोध सिर्जना हुने बताउँछन् । पत्रपत्रिकाबाट