पाँचथर। तमोर करिडोर निर्माण भएपछि धरान जाने बाटो छोटिएको छ। दुई दिन लगाएर धरान पुग्नुपर्ने बाध्यता अहिले साढे तीन घण्टामा छोटिएको हो।
यसअघि एक दिन पैदल र एक दिन गाडी चढेर धरान पुगिने गरेकोमा अहिले साढे तीन घण्टामा पुगिने भएपछि स्थानीय खुसी भएको बताउछन्। अब पाँचथरसँगै तेह्रथुम र धनकुटाका ग्रामीण भेगका नागरिकका लागि धरान इटहरी र विराटनगर पुग्न सहज भएको स्थानियले बताए।
पहाडलाई तराई र काठमाडौंसँग जोड्ने द्रुत सडकमार्गको रूपमा लिइएको उक्त करिडोरअन्तर्गत धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्म सडक निर्माण भएपछि उक्त क्षेत्रका धेरै स्थानीय प्रत्यक्ष लाभान्वित भएका छन्।
सुनसरीको चतरादेखि ताप्लेजुङको ओलाङचुङगोला जोड्ने तमोर करिडोर ६ अर्ब १५ करोड १४ लाख रुपैयाँमा ठेक्का लागेको थियो। १ सय ९१ किलोमिटर लामो उक्त सडकलाई सात खण्डमा विभाजन गरेर ठेक्का दिइएको थियो। १० मिटर चौडाइ रहेको सडकको १ सय ९१ किलोमिटरमध्ये अब ताप्लेजुङको लेलेपमा २ किलोमिटर मात्रै ट्र्याक खुल्न बाँकी छ।
उक्त सडक नखुल्दा पॉचथर, ताप्लेजुङ र तेह्रथुमको आठराइ क्षेत्रकाले तराई झर्न मेची राजमार्ग भएर फिदिमबाट इलाम, झापा हुँदै धरान र विराटनगर पुग्नुपर्थ्यो। अहिले तमोर करिडोर भएर पाँचथरबाट धरानसम्म दैनिक बस र जिप ओहोर–दोहार गर्छन्।