तनहुँ। तनहुँको भानु नगरपालिका–१ कल्याणटार र बन्दीपुर गाउँपालिका–१ भुडाटार जोड्ने चुँदीखोलामा झोलुङ्गे पुल निर्माण भएको छ। बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लागत सहभागितामा झोलुङ्गे पुल निर्माण गरिएको हो।
झोलुङ्गे पुल नहुँदा लामो यात्रा गर्नुपर्ने यस भेगका स्थानीयवासीलाई झोलुङ्गे अब भने सहज भएको छ ।
यहाँ पुल नहुँदा स्थानीयवासी यसअघि चार किलोमिटर टाढा डुम्रेमा रहेको पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता थियो । झोलुङ्गे पुल बनेपछि चार किलोमिटर बाटो छोटो भएको स्थानीयले बताए।
विसं २०७८ वैशाख १३ गते पुल निर्माणका लागि सम्झौता भएकामा हालै मात्र पुल निर्माण सम्पन्न भएको छ । पुलको औपचारिक शुभारम्भ भने हुन बाँकी छ । ८५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि ६ सयभन्दा बढी घरधुरीका ३ हजार ६ सयभन्दा बढी जनसङ्ख्या लाभान्वित भएका छन् ।
रु ३९ लाख ५१ हजार २४ को लागतमा पुल निर्माण भएको छ । गैरसरकारी संस्था समन्वय समिति तनहुँको सामाजिक तथा प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो ।