मुस्ताङ। बेनी–जोमसोम सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकखण्डको घाँसा, काभ्रेभिरलगायतका स्थानमा सडक चक्लाबन्दी गर्न लागिएका कारण बन्द गरिने भएको हो।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जिल्ला सुरक्षा समितिको निर्णयले यही फागुन २३ देखि आगामी चैत १५ गतेसम्म सडक दैनिक बिहान ९ बजेदेखि ११ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म गरी दैनिक पाँच घण्टा बन्द गर्ने निर्णय गरेको जानकारी दिए।
कालीगण्डकी करिडोरको सो सडकखण्ड हिमालपारिको जिल्ला मुस्ताङलाई सडक मार्गबाट जोड्ने एक मात्र सडक हो । यसअघि पनि मुस्ताङको थासाङ गाउँपालिका–४ मा भिरको कडा चट्टानलाई नेपाली सेनाले विस्फोटक पदार्थको प्रयोग गरी सडक चौडा गर्ने काम गर्न फागुन १५ गतेसम्म दैनिक ४ घण्टा उक्त सडक बन्द गरिएको थियो ।