काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव नेतृत्वको टोलीले लामोसाँघु जिरी सडक खण्ड र सडक डिभिजन कार्यालय चरीकोटको आज निरीक्षण गरेको छ। टोलीले सडकको अवस्था, सुधारका मापदण्ड, कालोपत्र, पिच गर्दा प्रयोग गरिएका वस्तुगत सामग्री र गुणस्तरको जानकारी लिएको हो।
सो अवसरमा मन्त्री यादवले सडक तथा भौतिक पूर्वाधारको विकासका क्षेत्रमा जिम्मेवारी लिएका निर्माण व्यवसायीले समयसीमाभित्र योजना सम्पन्न नगरेमा उनीहरूलाई कालोसूचीमा राखेर दण्डित गरिने चेतावनी दिएकी हुन्।
सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले सडकलगायत अन्य भौतिक पूर्वाधारका आयोजनामा सम्झौता भएअनुसार गुणस्तरीय वस्तु प्रयोग गर्नुपर्नेमा जोड दिँदै उनीहरूले कमजोरी गरेमा स्थानीय जनता सचेत भएर विभागमा खबर गर्नुपर्ने बताए। आयोजना प्रमुख रोहित विसुरालले यस क्षेत्रको सडक सुधारमा विगतभन्दा प्रगति हासिल गरेको जानकारी गराए।