काठमाडौं। बन्दीपुर गाउँपालिका–१ भैँसीगोठ खानेपानी योजनाको निर्माण पूरा भएको छ। गाउँपालिकाको आर्थिक सहयोग, स्थानीयवासीबाट सङ्कलित रकम र जनश्रम व्यहोरेर उक्त योजना सम्पन्न गरिएको हो।
विगत लामो समयदेखि कुवाँको पानी बोकेर ल्याइ खाने गरेका उक्त बस्तीको घरघरमा पानीको धारा पुगेपछि स्थानीयवासी खुसी भएका छन्। कूल रु १९ लाख ६५ हजारको लागतमा उक्त योजना सम्पन्न भएको बताइएको छ।
उक्त योजनाका लागि बन्दीपुर गाउँपालिकाबाट रु ११ लाख ५० हजार, उपभोक्ताबाट सङ्कलित रु चार लाख ८५ हजार र रु तीन लाख ३० हजार बराबरको जनश्रम व्यहोरिएको थियो। योजनाबाट ३४ वटा धारा निर्माण गरी खानेपानी वितरण गरिएपछि त्यसक्षेत्रका ५३ घरधुरीका बासिन्दा लाभान्वित भएका छन्। पानीको लागी दुख पाईरहेको अवस्थामा अहिले घरघरमा खानेपानी पुगेपछी खुसी भएको स्थानीयको भनाइ रहेको छ।