इलाम। इलाम नगरपालिकाका जनप्रतिनिधिले सुरुवाती समयमै गाउँगाउँका गोरेटो बाटालाई सडकमा स्तरोन्नति गर्ने योजना लागू गरे। जनप्रतिनिधि आउनुअघि इलाममा बिनामापदण्ड सडक खनिएका थिए।
नगरपालिकाले राजमार्गबाहेकको ७ सय १९ किलोमिटर सडकलाई वैज्ञानिक ढंगले चार वर्गमा विभाजन गरेर काम गर्दा अहिले नगरका सडकको स्तरोन्नति भएको छ। नयाँ ट्र्याक नखोल्ने र खोल्नैपर्ने भए भूक्षय नहुने, वनजंगल क्षति नगर्ने, पानीका मुहान नोक्सानी नहुने मापदण्ड तोकेको छ।
इलामको गोलाखर्कदेखि बेलासेसम्मको १० किलोमिटर सडकको ट्रयाक खोल्ने काम सकिएसँगै यो सडकलाई तराईसँग जोड्ने वैकल्पिक राजमार्गका रुपमा विकास गरिएको हो। त्योबाहेक नगरपालिकाले केही नयाँ सडकको डीपीआर तयार पारेर काम अघि बढाएको छ।
नगरपालिकाको तथ्यांकअनुसार साढे चार वर्षमा ४५ भन्दा बढी सडकको स्तरोन्नति भएको छ भने नयाँ ढलान तथा कालोपत्रे भएका सडक संख्या ८ पुगेको छ। यसरी निर्माण गरिएका सडकमा नियमित अनुगमन हुँदा गुणस्तरीय काम भएको बताइएको छ। सडक र पूर्वाधार निर्माणलाई नगरपालिकाले प्राथमिकतामा राख्दा आर्थिक र सामाजिक विकासमा दिगोपना आउने देखिन्छ।