काठमाण्डौं। जाजरकोट–डोल्पा सडक खण्डको बीचमा रहेका भेरी नदीमा बेलिब्रिज पुल निर्माण कार्य जारी छ। निर्माण व्यवसायीले अस्थायी रूपमा तल्लु बगरमा बेलिब्रिज निर्माण गर्ने कार्यलाई तीव्रता दिएको हो।
जाजरकोटको नलगाड नगरपालिकाका–१२ र रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ जोड्ने गरी ठूलीभेरी नदीमा अस्थायी बेलिब्रिज बनाएर डोल्पा खण्डमा बेलिब्रिज पुल निर्माणको कामलाई तीव्रता दिएको सडक डिभिजन चौरजहारीले जनाएको छ।
बेलिब्रिज बनेपछि पहिलोपटक सवारीसाधनले ठूलीभेरी नदी तरेर सिधैँ डोल्पाको खदाङसम्म जान पाएका छन्।बेलिब्रिज नहुँदा यसअघि सवारीसाधन वारिपारी गराउनका लागि तुइनमार्फत तारेर एक लाख ५० हजारप्रति पटक रकम खर्च गर्नुपर्ने बाध्यता रहेको थियो।
अहिले जाजरकोट–डोल्पा सडकअन्तर्गत ठूलीभेरी नदी र अन्य दुई खोलाका चार ठाउँमा बेलिब्रिज निर्माणको काम भइरहेको छ। विल्डर्सका प्रतिनिधि मनोज लेखकले सामग्री ढुवानी गर्दासम्म सञ्चालन गर्ने गरी पुल तयार भएको बताए।
विल्डर्सले जाजरकोट–डोल्पा सडकको रुपगाडखोला, त्रिपुराकोट, खदाङ र करबगार खोलामा बेलिब्रिज निर्माणको काम गरिरहेको छ। ती पुल निर्माणस्थलमा अन्य आधारभूत निर्माणको काम सकिएको छ, भने सामान जडान गर्न मात्र बाँकी छ।