काठमाडौं। खोटाङ र उदयपुरको सीमानामा पर्ने सुनकोसीस्थित फोक्सिङटार पुल निर्माणले गति लिएको छ। खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ ब्रिज निर्माणले गति लिएको हो।
सम्झौताअनुसार यो पुल २०७५ सालमै बनिसक्नु पर्ने हो। अहिले बल्ल पुलको ‘आर्क’को ट्रस राखेर आरसीसी ढलान सुरु गरिएको छ। २० फागुनबाट पुलको ‘आर्क’ ढलान सुरु गरेको निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीले बताएको छ।
निर्माण कम्पनीको ढिलासुस्तीका कारण तीनपटक म्याद थप हुँदा पनि पुल पुरा हुन सकेको छैन। ‘आर्क’ पुलको खोटाङ र उदयपुरतर्फ दुई दुई कोलम ढलान गरिसकिएको बताइएको छ। गाईघाट–दिक्तेल सगरमाथा राजमार्ग (१०१ किलोमिटर) अन्तर्गत फोक्सिङटारमा १२० मिटर लम्बाई हुने पक्की पुल बनाउन सुरु गरिएको हो।
फोक्सिङटारमा आर्क ब्रिज निर्माण सकिएपछि खोटाङलाई पुर्वी शहर जोड्ने छोटो दुरीको गाइघाट–दिक्तेल सडक स्थायी रुपमा सञ्चालनमा आउनेछ। उक्त पुल २२ करोड ६७ लाख ११ हजार (भ्याट र पिएस सहित) मा पूरा गर्ने गरी ठेक्का लागेको हो।