सिमकोट। जिल्लाकै दूरदराजमा पर्ने अदानचुली गाउँपालिका–४ को रिल्म गाउँ गाडीको सुविधा पुगेको छ। स्थानीयले उधारोमा सडक निर्माण गरेर गाडी गाउँ पुर्याएका हुन्।
केही बजेटको व्यवस्था भएको र केही आउने आश्वासन पाएपछि उधारोमा सडक निर्माण गरेर स्थानीयले गाडी रिल्म गाउँमा पुर्याएका हुन्। दुई वर्ष लगातार स्थानीय उपभोक्ताले सडक निर्माण गरेर दुर्गमको रिल्म गाउँमा गाडी पुगेको स्थानीयले बताए। स्थानीयले यसरी गाडी चाँडै गाउँमा आउला भन्ने कल्पनासमेत नगरेको अवस्थामा गाडी पुगेको जानकारी दिँदै उनिहरुले पहिलो पटक गाउँमा गाडी पुग्दा खुसियाली मनाएको बताए।
गाडी पुगेसँगै रिल्मा गाउँपालिका केन्द्र श्रीनगर कर्णाली करिडोरसँग जोडिएको छ। सडक स्थानीय उपभोक्ताबाट उधारोमा निर्माण भएको हो। गाउँका ज्येष्ठ नागरिकलाई यति चाँडै गाउँमा जिप नै पुग्ला भन्ने विश्वास थिएन। उनीहरू आँगनमा बोलेरो जिप पुग्दा आश्चर्यचकित भएका थिए।
गाउँमा गाडी पुगेपछि स्थानीय बासिन्दाले वडाध्यक्ष, गाडी चालक र यात्रुलाई फूलमाला र अबिर जात्रा गरेका थिए। यसका लागि अघिल्लो आर्थिक वर्षमा १८ लाख ३५ हजार र चालु वर्षमा १८ लाख ३५ हजार बजेट खर्च भइसकेको र हालसम्म काम गरेको स्थानीय उपभोक्ताले पाउन अझै १५ लाख बाँकी छ।