काठमाडौं। बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले मनहरी–मलेखु सडक खण्डको स्थलगत अवलोकन गरेका छन्। राज्यमन्त्री प्रजाले मकवानपुरको मनहरीबाट राक्सिराङ गाउँपालिकाको विभिन्न वडा हुँदै धादिङको बेनिघाट रोराङबाट मलेखु छिचोल्ने सडकको अवलोकन गर्दै मलेखुसम्म पुगेका हुन् ।
स्थलगत अवलोकनको क्रममा सडकको स्तरोन्नति गर्नुपर्ने भागहरुको पहिचान गरिएको बताइएको छ। हेटौंडाबाट चितवन हुँदै संघीय राजधानी काठमाडौं जाने सडकको विकल्पको रुपमा हेरिएको यो सडक खण्डको ट्र्याक खोल्ने काम केहीदिनअघि मात्रै पूरा भएको छ ।
मनहरीदेखि मलेखुसम्मको सडकको दूरी जम्मा ५२ किलोमिटर मात्रै छ । सडकको ट्र्याक खन्ने काम पूरा भएपछि त्यसलाई दीगो बनाउनका लागि बागमती प्रदेश सरकारले पनि चासो दिएको छ ।
बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सो सडक स्तरोन्नतिका लागि करिब एक अर्ब लगानी गर्ने योजना बनाएको छ । करिब एक अर्ब रुपैयाँको समपूरक अनुदानको प्रस्ताव प्रदेशमार्फत संघीय सरकारमा पठाइसकिएको भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रजाले जानकारी दिए ।