काठमाडौं। चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रुबेँसी सडकखण्डको स्तरोन्नतिको काम अलपत्र परेको छ। सडक स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि नाका जोड्ने छोटो दूरीको सडक स्तरोन्नतिको काम अलपत्र परेको हो।
उक्त सडक स्तरोन्नतिका लागि श्री भारत कन्स्ट्रक्सन/सिद्धिसाई जेभीले जिम्मा लिएको थियो। जेभिले पेटी ठेकेदार कम्पनीद्धारा सडक स्तरोन्नतीको काम गरिरहेको थियो। तर, मुख्य ठेकदारले पैसा नदिएपछि पेटी ठेकदारले समेत निर्माणको काम रोकेका छन्। गत ५ गतेदेखि सडक स्तरोन्नतीको काम ठप्प रहेको बताइएको छ।
३० पुस ०७९ सम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी श्री भारत कन्स्ट्रक्सन/सिद्धिसाई जेभीले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनासँग १ साउन ०७७ सम्झौता गरेको थियो। सम्झौताको अवधि अब १० महिना मात्रै बाँकी छ। तर, हालसम्म भौतिक प्रगति सन्तोषजनक नभएको बताइएको छ। हालसम्म २३ प्रतिशत मात्रै भौतिक प्रगति भएको गल्छी–त्रिशूली–मैलुङ स्याफ्रुबेँसी रसुवागढी सडक योजनाले जनाएको छ।
हालसम्म टेवा पर्खाल लगाउने काम मात्र भएको र सडकसम्बन्धी कुनै पनि काम हुन नसकेको योजनाले जनाएको छ। मुख्य ठेकेदार कम्पनीले सडक स्तरोन्नतिका लागि सडक योजनासँग सम्झौता भएयता सम्पर्कविहीन हुँदै आएको बताइएको छ। सडक योजनाले पटकपटक पत्राचार गरेपनि सम्पर्कमा नआउने र सम्पर्कमा आएपनि कामलाई गति नदिने गरेको जनाइएको छ।