काठमाडौं। इलामको सूर्योदय नगरपालिकाभित्रका ९४ प्रतिशत घरधुरीले पाइप प्रणाली तथा धाराबाट खानेपानी सुविधा उपयोग गरिरहेका छन्। नगरपालिकाले ‘एक घर एक धारा’ नीति अवलम्बन गरी पञ्चवर्षिय आवधि योजना अघि बढाएपछि ९५ प्रतिशतले खानेपानीको सुविधा पाएका हुन्।
यसअघि खानेपानी योजना व्यवस्थित नहुँदा ४० प्रतिशत घरधुरी स्वच्छ पिउने पानीबाट वञ्चित थिए। सूर्योदय नगरपालिकाभित्र सबै वडाका खानेपानी योजना व्यवस्थित नभएका कारण करिब ६० प्रतिशत घरधुरीले मात्र सहज रूपमा खानेपानी सुविधा पाएका थिए।
अहिले नगरपालिकाले संघीय सरकारको सहयोगमा ६६ करोड रुपैयाँ लागतमा बृहत् खानेपानी योजना अघि बढाएको छ। उक्त योजना सम्पन्न भएपछि कन्याम, लक्ष्मीपुर, पञ्चकन्यालगायतका १४ वटै वडाका उपभोक्ता लाभान्वित हुनेछन्।
आवधिक योजनासँगै नगरपालिकाले खानेपानी र सरसफाइका लागि ऐन र कानुन निर्माण गरेको छ। नगरपालिकाले ‘एक घर एक धारा, एक शौचालय’ को नीति अवलम्बन गरेर खानेपानी र सरसफाइको क्षेत्रमा एकैसाथ काम अघि बढाएको छ।