झापा। हुलाकी सडक अन्तर्गत निर्माण भइरहेको ‘चारआली–केचना सडक’को निर्माण कार्य अलपत्र परेको छ। दुई महिनाअघि नै ९० प्रतिशत काम पूरा भएको सडकको निर्माणमा निर्माण व्यवसायीले वेवास्ता गर्दा अलपत्र परेको हो।
चारआली–केचना ४० किलोमिटर सडक निर्माणका लागि २०७३ असोज १७ गते निर्माण व्यवसायी कालिका कनकाई याङथुम्हाङ जेभी र लामा ढाँफे कञ्जनजङघा जेभीले २०७५ चैत १६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेका थिए। तर पटकपटक म्याद थप गर्दासमेत सडक निर्माणको काममा ढिलाइ भइरहेको छ। आगामी चैत ३० गतेसम्म अन्तिम म्याद रहेको सडक निर्माणमा निर्माण व्यवसायीको लापरबाही भएको स्थानीयको भनाइ छ।
उनले भद्रपुर नगरपालिकाभित्र रहेको संगमचोकदेखि भानुचोकसम्मको ५०० मिटर, बनियानी र सकुनाढिकीमा ५०० मिटर गरी एक किलोमिटर क्षेत्र मात्र निर्माण गर्न बाँकी रहेको छ। सडक निर्माण रोक्नुपर्ने कारण देखाउन आग्रह गर्दै निर्माण व्यवसायीलाई पटकपटक पत्राचार गर्दासमेत लिखित कारण देखाउन नसक्ने र तत्काल बनाउँछौं भन्दै मौखिक जवाफ मात्र दिने गरेको बताइएको छ।