काठमाडौं। हुम्लाको सदरमुकाम सिमकोटको एउटा गाउँ करिब तीनसय वर्षदेखि ढुङ्गेधारा पानीको भरमा रहँदैआएको छ। ढुङ्गे धारामा बारम्बार पानी आइरहने भएकाले सो गाउँका लागि नयाँ कुनै योजना निर्माण गरेर स्वच्छ पानीको व्यवस्था नगरिएको हो।
सदरमुकाम सिमकोट गाउँपालिका –६ मा पर्ने पाम्वाडा (माथिल्लो गाउँ) का स्थानीयले परापूर्वकालदेखि नै गाउँबासी गाउँ नजिकैको ढुङ्गेधाराको पानी प्रयोग गर्दैआएको बताए। उक्त पानी प्रयोगका लागि योग्य भए नभएको हालसम्म कुनै परीक्षण नगरिएको स्थानीयको भनाइ छ।
पहिला ढुङ्गाकै तीनवटा धारा भए पनि पछि त्यसलाई मर्मत गर्नुपर्ने भएकाकारण ढुङ्गाको स्थानमा पाइप जडान गरेर धारा बनाइएको हो। पुर्खाहरुको भनाइलाई आधार मान्ने हो भने कम्तीमा पनि तीनसय वर्ष अघिदेखि ढुङ्गेधारामा पानी आउने गरेको विश्वास छ।
गाउँलेहरुले मान्ने देवता कालाशिल्ता कैलाशबाट आएदेखि पानी आउन सुरु भएको बुढापाकाको भनाइ रहेको छ। सो धाराबाट १७० घरधुरीका बासिन्दा प्रत्यक्ष लावान्भित हुँदै आएका छन्। सिमकोट बजारमा पानीको समस्या भएकाबेला सिङ्गो बजारवासीले सोही धाराको पानी प्रयोग गर्नेगरेको स्थानीयले बताए।