काठमाडौं। पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनदेखि पोखरा पृथ्वीचोकसम्मको सडक खण्डलाई चार लेनमा विस्तार गर्नका लागि रुख काटीएको छ। सडक विस्तारका लागि ५८ सय रुख काटीएको हो।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा चार लेनको सडक बनाउनलाई ठेक्का प्रकृया पुरा भएर काम सुरु भइसकेको छ। तनहुँ र कास्कीमा गरेर ५ हजार ८५१ रुख कटान भइसकेको छ। तनहुँमा ६ हजार ७५० र कास्कीमा एक हजार २५० रुख काट्नुपर्ने । जसमध्ये तनहुँमा मात्रै पाँच हजार रुख काटिएको हो। कास्कीतर्फ ८५१ रुख काटिएको आयोजनाले जनाएको छ।
८० किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ। आँबुखैरेनी–जामुने पूर्वी खण्डको ४१.४५ किलोमिटर सडक स्तरोन्नतिको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको हो। जामुने–पोखरा पश्चिम खण्डको ३८.८८ किलोमिटरको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुआन हाइवे एन्ड ब्रिज कम्पनीले लिएको हो।
आँबुखैरेनी–जामुने पूर्वी खण्डको दुई हजार ८०० रुख कटान गरिएको योजनाले जनाएको छ। उक्त खण्डमा चार हजार ६७१ रुख कटान गर्नुपर्नेछ। रुख कटानसँगै सडक फराकिलो बनाउने काम पनि भईरहेको बताइएको छ।
जामुने–पोखरा पश्चिम खण्डमा तीन हजार ५१ रुख काटिएको छ। उक्त खण्ड तनहुँ र कास्की दुई जिल्लामा पर्दछ। तनहुँमा दुई हजार २०० र कास्कीमा ८५१ रुख कटान गरिएको योजनाले जनाएको छ। जामुनेदेखि कुम्लेखोलासम्म १० किलोमिटर दुरीमा नेपाल विद्युत प्राधिकरणमार्फत विद्युतको पोल स्थानतरण भइसकेको बताइएको छ।
सबै रुख काटेर सकेपछि चार लेन सडक आयोजनाले डिभिजन वन कार्यालयलाई बुझाउनेछ। वन कार्यालयले सडक स्तरोन्नतीका लागि काटिएको काठ लिलामी प्रकृयाबाट विक्री गर्ने जनाएको छ।