जुम्ला। कर्णाली प्रदेशको सबैभन्दा ठूलो धौलिगाड खानेपानी आयोजना निर्माण हुने भएको छ। विगत डेढ दशकदेखि अलपत्र अवस्थामा रहेको उक्त आयोजना बल्ल निर्माण प्रक्रिया अघि बढ्ने भएको हो।
केही महिनाअघि आयोजना निर्माणको बजेट सुनिश्चितता भए पनि कहिलेबाट निर्माण हुने भन्ने टुङ्गो थिएन। यही ५ चैतमा संघीय खानेपानीमन्त्री उमाकान्त चौधरीले बृहत् धौलिगाड खानेपानी आयोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको धौलिगाड खानेपानी आयोजनाले जनाएको छ।
कर्णाली प्रदेशको ठूलो र नेपालको हिमाली भेगमा रहेको सबैभन्दा लामो प्रसारण तथा वितरण क्षेत्र रहेको उक्त खानेपानी आयोजना निर्माण शिलान्यासका लागि ५ चैतमा खानेपानीमन्त्री चौधरीसहित खानेपानी मन्त्रालयका सचिव र खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक जुम्ला आउने बताइएको छ।
उक्त आयोजना एक अर्ब २६ करोड लागतमा निर्माण हुने भएको छ। चन्दननाथ नगरपालिकासहित गुठिचौर र तातोपानी गाउँपालिकाका ४४ हजार १ सय ६३ घरधुरी धौलिगाड खानेपानी आयोजनाबाट लाभान्वित हुने भएका छन्।
आयोजना सञ्चालनसँंगै तीन स्थानीय तहका नागरिकले भोगिरहेको खानेपानी समस्या पनि हट्ने विश्वास गरिएको छ। ५ चैत बिहान साढे १० बजे आयोजनाको कार्यालय परिसरमा भूमी पूजा गर्ने र त्यस पश्चात टुँडिखेल मैदानमा शिलान्यास तथा सम्बोधन कार्यक्रम रहेको धौलिगाड खानेपानी आयोजनाले जनाएको छ।