रामेछाप। मन्थली नगरपालिकाको कुनौरी र मुगिटार जोड्न तामाकोसी नदीमा पक्की पुल निर्माण सुरु गरिएको छ। २८ करोड ८३ लाख रुपैयाँ लागतमा पुल निर्माण गरिने भएको हो।
सडक विभागले निर्माण गर्न थालेको ‘तामाकोसी पुल मुगिटार’ करिब एक वर्षमा सम्पन्न हुने बताइएको छ। पुल निर्माणका लागि कालिका कल्पवृक्ष जेभी संलग्न छ। उक्त निर्माण व्यवसायी कम्पनीसँग २०७७ भदौमा निर्माण कार्यको लागि सम्झौता भएको हो।
२ सय ३० मिटर लामो उक्त पुल ५ स्पानको हुनेछ। प्रिस्टेस बक्स गडर डिजाइनमा निर्माण हुने मुगिटार पुल सम्पन्न भएपछि रामेछापको खाँडादेवि, सुनापति र दोरम्बा गाउँपालिकाका अतिरिक्त काठमाडौंसँगको दूरी केही छोटो हुने आशा गरिएको छ।
यसैगरी मध्यपहाडी सडक आयोजनाले तामाकोसीकै बेनीघाट आँपगाछि नजिकै अर्को पुल निर्माण गर्न सुरु गरेको छ। खाँडादेवि गाउँपालिका ४ र मन्थली नगरपालिका ६ को बीचमा पर्ने उक्त पुल निर्माणपछि मध्यपहाडी सडक बीपी सडक मार्गको खुर्कोटमा पुगेर जोडिनेछ।