पोखरा। ल्यान्डफिल साइटका बासिन्दाको आन्दोलनपछि सडकमा थुप्रिएको पोखराको फोहोर ६ दिनपछि उठाउन सुरु गरिएको छ। ल्यान्डफिल साइट प्रभावित बासिन्दा, जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरबीच आइतबार पुरानै सम्झौता एक हप्ताभित्र कार्यान्वयन गर्ने सहमति पछि रोकिएको फोहोर उठाइएको हो।
महानगरले आफूहरुसँग लिखित सम्झौता गरे पनि कार्यान्वयन नगरेर वेवास्ता गरेको भन्दै ल्यान्डफिल साइटका बासिन्दाले १ चैतदेखि फोहोर बोक्ने गाडी प्रवेशमै रोक लगाएका थिए। जसका कारण पोखरा महानगरमा दैनिक ठूलो मात्रामा फोहोर थुप्रिएको थियो।
‘स्थानीयसँग पुरानै सम्झौता एक हप्ताभित्र कार्यान्वयन गर्ने गरी प्रक्रिया अघि बढाउने सहमति भएको छ। सहमति पछि उनिहरु फोहोर बोक्ने गाडी चल्न दिन राजी भएको पोखरा महानगर स्वास्थ्य महाशाखाले जनाएको छ।