ललितपुर। ललितपुर महानगरपालिका–२२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले गरिएको झोलुंगे पुलको निर्माण सम्पन्न भएको छ।
कार्यविनायक र मछिन्द्रबहालबीचको सहजसम्पर्क स्थापित गर्न निर्माण गरिएको पुलको काम सम्पन्न भएको हो।
पुलको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी छन्। पुल उद्घाटन गर्दै मन्त्री भुसालले धार्मिक तथा पर्यटकीय केन्द्रलाई जोड्ने पुलले नेपालको हस्तकला, काष्ठकला र मूर्तिकलाको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। बाह्य र आन्तरिक पर्यटन प्रवर्द्धनमा पनि झोलुंगे पुल कोसेढुङ्गा सावित हुने बताइन्। मन्त्री भुसालले आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गर्दै ‘एक घर, एक पर्यटक’ अभियान चलाउन स्थानीयवासीसँग आग्रह समेत गरिन् ।
उनले भनिन्, “यसबाट आयआर्जनका साथै नेपालको कला संस्कृतिको प्रवर्द्धनमा पनि टेवा पुग्छ, स्थानीय उत्पादनको बजारीकरण गर्न पनि यसले सघाउ पुर्याउँछ।”
७९ लाख लागतमा निर्माण गरिएको पुलको लम्बाइ १३५ मिटर रहेको छ । उपत्यकामा रहेका झोलुङ्गे पुल पर्यटकीय आकर्षणका रुपमा रहँदै आएका छन् । कार्यविनायक र मछिन्द्रबहाललाई जोड्ने उक्त पुल निर्माणपछि दोहोरो पर्यटन प्रवर्द्धनमा सघाउन पुग्ने विश्वास व्यक्त गरिएको छ ।