तनहुँ। तनहुँको भीमाद नगरपालिका–३ स्थित बुडुवाखोलामा पक्की पुल निर्माण भएको छ । २ करोड ५ लाख लागतमा पुल निर्माण सम्पन्न भएको हो।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत पक्की पुल निर्माण सम्पन्न भएको हो । विसं २०७७ पुस १३ गतेदेखि पुल निर्माणको काम सुरु भएको थियो ।
पुल निर्माणका लागि विसं २०७७ साउन २८ गते गणेश कुण्ड निर्माण सेवा नुवाकोटसँग सम्झौता भएको थियो ।
उक्त ठाउँमा पुल नहुँदा वर्षायाममा सर्वसाधारणलाई सास्ती हुँदै आएको थियो । पुल निर्माणपछि यस भेगका बासिन्दालाई वारपारमा सहयोग भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम ठकुरीले बताए ।
खोला तर्न हालिएका फड्के पनि बगाउँदा स्थानीयवासी मर्कामा पर्दै आएका थिए । विद्यालय जाने विद्यार्थी, घाँस दाउरा र मेलामात गर्ने स्थानीयवासीलाई खोला तर्न समस्या हुँदै आएको थियो ।
वर्षौँदेखि मोटरेबल पुल बनाउन आवाज उठाउँदै आएका यहाँ स्थानीयवासीको माग गण्डकी प्रदेश सरकारले सम्बोधन गरिदिएको छ ।
वडाध्यक्ष भूपेन्द्रराज मल्लले यहाँ बनेको पुलले स्थानीयवासीको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।
बाटो बने पनि पुल नहुँदा सवारी आउजाउमा समस्या भइरहेको बताउँदै पुल बनेपछि विकास र स्थायित्वको आवश्यकता पुष्टि भएको उनले बताए ।