काठमाडौं। काठमाडौं — नुवाकोटका जनप्रतिनिधि र नेताहरूले काठमाडौंदेखि ककनी हुँदै नुवाकोट जाने सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्। नुवाकोटका नेपाली कांग्रेसका नेताहरूले मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नुवाकोट जिल्लामा सञ्चालित योजनाहरूको अवस्था, पुर्वाधार निर्माण र अन्य योजनाहरूबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।
उक्त भेटमा उनीहरूले काठमाडौंदेखि ककनी हुँदै नुवाकोट जाने सडक कालोपत्रेका लागि ठेक्का लागे पनि १० वर्षदेखि निर्माण सम्पन्न हुन नसकेको भन्दै त्यसले जिल्लावासीलाई सास्ती भएको गुनासो गरेका छ्न। उनीहरूले सडक निर्माण तत्काल पूरा गर्न ध्यानाकर्षण गराएका छन्। टोलीले प्रधानमन्त्री देउवालाई ज्ञापन पत्र बुझाउँदै जिल्लाको विकास निर्माणका क्षेत्रमा भएका समस्या र जल्दाबल्दा समस्याहरूबारे जानकारी र ध्यानाकर्षण गराएका हुन्।
ज्ञापन पत्रमा नुवाकोटको बञ्चरे डाँडाको डम्पिङ साइटको व्यवस्थापन गर्दा स्थानीयको सरोकारलाई ध्यान दिन पनि अनुरोध गरिएको छ। स्थानीय बासिन्दाहरुले ‘फोहररहित मानव बस्ती, मानव बस्तीरहित फोहर मैला व्यवस्थापन’ गर्न माग गर्दै आएका छन्। टोलीले स्थानीयवासीको माग बमोजिम फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।
ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले जिल्लाका समस्या र मागहरूबारे सम्बन्धित निकायलाई बोलाएर निर्देशन दिने बताएका छन्।