काठमाण्डौं। लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडकखण्ड हिजोदेखि सञ्चालनमा ल्याइएको छ। सडक निर्माण लागि गत फागुन २० देखि बन्द रहेको सडक २५ दिनपछि आज पूर्णरुपमा खुलाइएको हो।
सडकखण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कलभर्ट निर्माण गरिएको छ। कलभर्टको ढलान पूर्णरुपमा ‘सेट’ नभएका कारण गत फागुन २० गतेदेखि सडक बन्द थियो।
पैदल यात्रुबाहेक सवारी साधनका लागि सडक बन्द गरिएको थियो। जिल्लाको नासो गाउँपालिका–९ स्थित तिमाङ छहराको दुई ठाउँमा कलभर्ट निर्माण गरिएको छ। यहाँ गत असारमा आएको बाढीले काठेपुल बगाएको थियो । पछि पुनस् काठेपुल राखेर यातायात सञ्चालनमा गरिएकामा गत कात्तिकमा आएको बाढी पहिराले काठेपुलसमेत बगाएको थियो।
त्यसपछि राखिएको काठेपुल जीर्ण हुँदै गएको र आगामी बर्खायाममा फेरि समस्या उत्पन्न हुने भएकाले व्यवस्थित गर्न ढलानसहितको स्ल्याब कलभर्ट निर्माण गरिएको हो।