सिन्धुपाल्चोक। असार १ गतेको मेलम्ची बाढीले बस्ती जोखिम र नदीको सतह बढेपछि मेलम्ची नगरपालिकाले नदी गहिर्याउने काम सुरु गरेको छ। सङ्घीय र प्रदेश सरकारलाई बजेट उपलब्ध गराउन पटक पटक गरेको आग्रहको सुनुवाइ नभएपछि नगरपालिकाले आफ्नै बजेटमा नदी नियन्त्रण र क्षति न्यूनीकरणका काम सुरु गरेको हो।
मेलम्ची बाढीले उकासिएको नदीको सतहलाई गहिर्याउन मेलम्ची नगरपालिकाको दुई करोड ५० लाख रुपियाँ बजेट विनियोजन गरी काम सुरु गरेको नगरपालिकाले जनाएको छ। मेलम्ची नगर र हेलम्बु गाउँपालिकाको सीमाना तालामाराङदेखि डुढेखोलासम्म नदी गहिर्याउन सुरु गरिएको छ। नदीले कटान गरेको आवश्यक स्थानमा संरक्षण पर्खाल लगाउन सुरु गरिएको छ।
विज्ञहरूको सुझावका आधारमा वर्षा लाग्नु पूर्व नै बाढीबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न नदी गहिर्याउन सुरु गरिएको नगरपालिकाले जनाएको छ। विज्ञहरूले नदीलाई पुरानै लयमा फर्काउन र कटान भएका स्थानमा संरक्षण पर्खाल लगाउन सुझाव दिएको छ। वर्षायाम सुरु हुन केही महिना बाँकी रहँदासमेत प्रदेश र सङ्घीय सरकारले मेलम्ची नदी नियन्त्रण र बस्ती संरक्षणमा उचित ध्यान दिएका छैनन्। गत असार १ र त्यसपछिको मेलम्ची बाढीले स्थानीयको जग्गा कटान र तीन सयभन्दा बढी घर बगाएको थियो।