काठमाडौं। मुगु कर्णाली नदीमा स्थानीय सरकारको लगानीमा बेलिब्रिज राखेसँगै हुम्ला मुगुसँग सडक सञ्जालमा जोडिएको छ। छायानाथ रारा नगरपालिकाको आर्थिक लगानीमा वडा नम्बर ३ र १३ मा रहेको इमालमोर भन्ने स्थानमा मुगु कर्णालीमाथि बेलिब्रिज निर्माण गरिएको हो।
छायानाथ रारा नगरपालिका–१ देखि हुम्लाको चंखेली गाउँपालिकाको दार्म तल रहेको हुम्ला कर्णालीसम्म ग्रामीण पहुँच कार्यक्रमले सडक बनाए पनि मुगु कर्णाली नदीमा पुल नहुँदा त्यहाँका स्थानीय सडक बनेर पनि यातायातको सुविधा लिनबाट वञ्चित थिए। तत्कालीन जिल्ला विकास समिति हाल संघीय सरकार मातहत करिब ६ करोडको ठेक्का सम्झौता गरेर मुगु हुम्ला लिंक रोडको मुगु कर्णाली नदीमा पक्की पुल बनाउन ठेक्का लगाए पनि प्राविधिक कारण देखाउँदै ठेकेदार पक्षले पेस्की लिएर लामो समयसम्म पुल नबनाई गुमनाम बसेको थियो।
कर्णाली प्रदेशका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाही २०७७ सालमा पक्की पुल निर्माणस्थलमै पुगेर ठेकेदारलाई पुल बनाउन ताकेता गरे पनि ठेकेदारले कुनै सुनुवाइ गरेको थिएन। यसैबीच मुगु कर्णाली पारि रहेका छायानाथ रारा नगरपालिका–१३ र १४ मा सडक बनेर हुम्लासम्म जोडिए पनि मुगु कर्णाली नदीमा पुल नहुँदा सडकको सदुपयोग हुन सकेको थिएन।
संघ र प्रदेश सरकारको आसमा बस्दा बनेको सडकसमेत जीर्ण हुने अवस्था आएपछि छायानाथ रारा नगरपालिकाले करिब ६ करोड ३ लाख २१ हजार १ सय ५७ रुपैयाँ लागत स्टिमेटमध्ये पाँच करोड २० लाख ५५ हजार ९ सय २ रुपैयाँमा बेलिब्रिज बनाउने गरी ०७७ पुस २९ गते जलप/रविचक्र जेभी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। सम्झौताबमोजिम निर्माण कार्य सम्पन्न गरी आइतबार पुल उद्घाटन गरिएको छायानाथ रारा नगरपालिकाले जनाएको छ।