काठमाडौं। निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको उडान रुटमा पर्ने पोखराको ल्याण्डफिल साइट भरतपोखरीमा सार्ने तयारी गरिएको छ। बुधबारको कार्यपालिका बैठकले पोखरा १४ को बाच्छेबुडुवाबाट भरतपोखरीमा ल्याण्डफिल सार्ने निर्णय गरेको हो।
पोखरा ३३, साविक भरतपोखरी गाविसको ६ र ७ नम्बर वडामा पर्ने जग्गामा ल्याण्डफिल सार्ने निर्णय भएको महानगरले जनाएको छ। उक्त क्षेत्रमा १ सय रोपनी सार्वजनिक जग्गा छ भने दुई ठाउँमा गरी ९५ रोपनी अधिग्रहण गर्न लागिएको छ।
तर, वडाध्यक्षले भने सम्भाव्यता अध्ययनका लागि मात्रै ठाउँ प्रस्ताव गरिएको हो। ‘अहिले नै सार्ने भनेको होइन। सम्भाव्यता अध्ययनका लागि कार्यपालिकाले पास गर्नुपर्ने रहेछ। अध्ययनका लागि जग्गा छानिएको हो।
यसअघि पोखरा १६ र २० को सीमानामा ल्याण्डफिल सार्ने निर्णय गरेकोमा स्थानीयको अवरोधले अघि बढ्न सकेन। विमानस्थल सन्चालनका लागि अहिलेको ल्याण्डफिल सार्नुपर्ने पहिलो सर्त छ। पोखरा महानगरलाई ४ वर्षअघि नै ल्याण्डफिल सार्न अनुरोध गरिएकोमा महानगरले चासो नदिँदा अहिले समस्या भएको हो।