धनुषा। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सडक पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन्।
धनुषाको हंसपुर नगरपालिकास्थित अमारी नदीमा नवनिर्मित पुलको उद्घाटन कार्यक्रममा मन्त्री यादवले सडक पूर्वाधारको विकासविना मुलुकको विकास र समृद्धि सम्भव नभएकाले सडक पूर्वाधार विकासलाई सरकारले प्राथमिकतामा राखेको बताएकी हुन्।
नेपालका हरेक सहर र गाउँलाई सडक सञ्जालमार्फत जोड्ने सरकारको नीतिअनुरूप नै अहिले देशभरि सडक र पुल निर्माण कार्यले तीव्रता पाएको उल्लेख गर्दै मन्त्री यादवले सडक पूर्वाधार निर्माणसँगै मुलुक आर्थिक विकासले गति लिने विश्वास व्यक्त गरिन् ।
शहरी विकास मन्त्रालयको कूल ९ करोड ५० लाखको लागतमा भैरव कन्स्ट्रक्सन प्रालिले सो पुल निर्माण गरेको हो। मन्त्री यादवले शुक्रबार नै धनुषा र महोत्तरी जोड्ने ४०० मिटर लामो रातो खोला पुल र धनुषाको मुखियापट्टी मुसहरनियाँस्थित कुकुरधारी पुलको पनि उद्घाटन गरेकी छन्।