तनहुँ। व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने मादी–सेती नदीमा पक्की पुल निर्माण गर्न शुरु गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अवलोकन गरेपछि कामलाई तीव्रता दिन थालिएको हो।
विसं २०७७ कात्तिक महिनादेखि निर्माण थालिएको उक्त पुल यसअघि कछुवाको गतिमा निर्माण भइरहेको थियो। गत चैत १० गते आठौँ तनहुँ महोत्सव उद्घाटन गर्न आएका प्रधानमन्त्री देउवाले तनहुँ जलविद्युत् आयोजना र निर्माणाधिन उक्त पुल अवलोकन गरेका थिए ।
शिलान्यास गरिएको एक वर्ष बित्दा पनि कामले गति लिन नसकेकामा प्रधानमन्त्रीको अवलोकन पछि निर्माण कार्यलाई तीव्रता दिइएको पुलःनिर्माण व्यवस्थापन समितिका अध्यक्ष बाबुराम बगालेले जानकारी दिए । गण्डकी प्रदेश सरकारको रु ३२ करोड ४० लाख सहयोगमा १५५ मिटर लमो र १० मिटर चौडा उक्त पुलको निर्माण अघि बढाइएको हो ।
पुलको एकातिरको बीस वटा फाइलको काम सम्पन्न गरेर सेन्टर प्वाइन्टको फाइलको काम सुरु गरिएको रसुवा एलिट जेभी कन्ट्रक्सनका प्रतिनिधि जीवन पौडेलले बताए । उक्त पुल निर्माण भएपछि झोलुङ्गे पुलबाट मोटरसाइकल गुडाउनुपर्ने बाध्यता अन्त्य हुनेछ ।
त्यसैगरी दमौलीबाट ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका जान लामो दूरी परेकामा पुल निर्माणपछि जिल्लाको दक्षिण भेगसम्म छोटो दूरीमै यात्रा गर्न सकिनेछ । पुल निर्माण भएपछि नवलपरासीको कावासोती र कालीगण्डकी करिडोरसँग जोडिने हुँदा हजारौं मानिस लाभान्वित हुने विश्वास गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ सम्म उक्त पुलको निर्माण कार्य सम्पन्न गर्नेगरी सम्झौता भएको निर्माण कम्पनीका प्रतिनिधि पौडेलले जानकारी दिए ।