काठमाडौं। मुग्लिन–नारायणगढ सडकखण्डमा निर्माण हुनुपर्ने १५ वटा पुलमध्ये दुईटा पुलको काम आठ महिना बाँकी हुँदा पनि शुरू भएको छैन। दुई वर्षअघि उक्त सडकखण्डमा १५ वटा पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो।
आउँदो मङ्सिर महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि मुग्लिन नजिकको खहरे खोला र तुइन खोलाको पुलको निर्माण कार्य नै शुरू नभएको नारायणगढ–मुग्लिन, नागढुङ्गा–मुग्लिन सडक आयोजनाले जनाएको छ।
खहरे खोलामा निर्माण हुने पुलको नजिकै रहेको बस्ती हटाउन क्षतिपूर्ति रकम अभावका कारण काम गर्न नसकिएको आयोजनाको भनाइ छ।
पुल निर्माण गर्ने स्थानमा केही घर टहराहरू छन्। उनीहरूलाई त्यहाँबाट हटाउनका लागि क्षतिपूर्ति रकम माग गरेका गरेको भएतापनी उक्त रकमका लागि एक वर्षअगाडिदेखि पहल गरे पनि बजेट पाउन नसकिएको बताइएको छ।