काठमाण्डौं। शिवसताक्षी नगरपालिकाको नगर गौरवको योजना अनुरुपको चक्रपथ निर्माण सम्पन्न भएको छ। ३९ किलोमिटरको रिङरोड निर्माणका लागि सात करोड केन्द्रीय सरकार, एक करोड ३० लाख प्रदेश नं १ सरकारको लगानीमा निर्माण भएको हो।
चक्रपथ निर्माण भएसँगै स्थानीयवासी समेत खुसी भएका छन्। हिउँदमा साइकलमा आवतजावत गरे पनि वर्षाको समयमा चप्पल खोलेर हिड्नु पर्ने बाध्यता रहेको थियो। अब सरसर कालोपत्र बाटोमा हिँड्न पाएको भन्दै स्थानीय उत्साहीत भएका छन्। नगरमा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै पञ्चवर्षीय योजना अनुरुप चक्रपथ निर्माण सुरु भएको थियो। सो रोड निर्माणका लागि हालसम्म २० करोडको लगानी भइसकेको नगरपालिकाले जनाएको छ।
नगरका सबै वडासम्म कालोपत्र पुर्याउने उद्देश्यले बनाइएको रिङरोडका लागि सबै सडकमा ग्राभेल र कल्भर्ट निर्माण गर्ने काम सकिएको छ। ३९ किलोमिटर रिङरोडमध्ये हालसम्ममा १० किलोमिटर बढी कालोपत्र भइसकेको नगरपालिकाले जनाएको छ। रिङरोड भित्रै करिब नौ किलोमिटर क्षेत्र पूर्वपश्चिम राजमार्गको परेको छ। बाँकी कालोपत्र गर्ने काम धमाधम भइरहेको छ।
सबै वडालाई सडक सञ्जालमा जोडेर नागरिकलाई सहज आवतजावत गर्न चक्रपथ प्रभावकारी हुने बताइएको छ।