सिमकोट। हुम्ला लिंकरोडअन्तर्गत चंखेलीदेखि देउलीसम्मको ३० किलोमिटर सडक प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ। बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको उक्त सडक प्रदेश सरकारलाई हस्तारन्तरण गरिएको हो।
ग्रामीण पहुँच कार्यक्रम (र्याप थ्री)ले बेलायत सरकारको सहयोगमा निर्माण सम्पन्न गरेको ३० किलो मिटर सडक हस्तारन्तरण गरिएको चंखेली गाउँपालिकाले जनाएको छ। ग्रामीण पहुँच कार्यक्रमले निर्माण गरेको मध्ये ३० किलोमिटर सडक आइतबार कर्णाली प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो।
हुम्लाको चंखेली गाउँपालिकादेखि मुगु सिमानाको देउली हुम्ला सडक खण्ड हस्तान्तरण गरिएको हो। चंखेली गाउँपालिका वडा १, २, र ३ का नागरिकका साथै अन्य हुम्लीबासीले अबका दिनमा सहजैरुपमा गाडीमार्फत जिल्ला बाहिर आवतजावत गर्न पाउने भएका छन्।
कार्यक्रमले यसअघि निर्माण गरेको २६ किलोमिटर सडक सन् २०२० मा प्रदेश सरकारलाई हस्तान्तरण गरेको थियो। चंखेलीदेखि हुम्लाको दार्मा देउलीसम्मको ३० किमी सडक पूरा गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको हो। सन् २०१८ देखि निर्माण सुरु गरिएको सडक निर्माणको काम सम्पन्न भएको छ।
सडक निर्माणको काम भएपछि हुम्ला र मुगुका झण्डै दुई दर्जन बस्तीहरू सडक सञ्जालमा जोडिएको चंखेली गाउँपालिकाले जनाएको छ। स्थानीयलाई रोजगारी दिएर सडक निर्माण गर्दा विपन्न नागरिकले रोजगारीको अवसरसमेत पाएको ग्रामीण पहुँच कार्यक्रमले जानकारी दिएको छ।