काठमाडौं। जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मधेसी लगायतप्रति भइरहेको विभेदविरूद्ध सडक र संसद दुबै ठाउँबाट लडाइँ गर्नुपर्ने बताएका छन्। सप्तरीमा आइतबार सडक योजनाको शिलान्यास गर्दै उनले यस्तो बताएका हुन्।
पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले सबै जनतालाई समान अधिकार र व्यवहारको वतावरण नबनेसम्म नयाँ नेपाल नबन्ने बताएका छन्।
अध्यक्ष यादवले आइतबार एकै दिन सप्तरीमा चार वटा सडक निर्माण योजनाको शिलान्यास गरेका छन्। निर्वाचन क्षेत्र २ मा थप दुई सडक र क्षेत्र १ मा दुुई वटा सडकको शिलान्यास उनले गरेका हुन्।
सडकको कूल बजेट ५४ करोड ६३ लाख हजार ७ सय ५१ रुपियाँ रहेकोमा रमण जे.एस. आइभी कन्सट्रक्सनले ३१ करोड २४ लाख ८ हजार ३ सय २४ रुपियाँ २८ पैसामा निर्माण गर्ने जिम्मा पाएको जनाइएको छ।
यस्तै संघीय सरकारको रणनीतिक सडक अन्तर्गत कूल बजेट २५ करोडको लागतमा सप्तरीको भारदह–डाढा, पकरी सडक खण्डलाई समेत भारदहमा पूजापाठ गरी शिलान्यास गरेका छन्।