काठमाडौं। मेलम्चीको पानी यस वर्ष काठमाडौंमा आउने सम्भावना करिब अन्त्य भएको छ। चैत मसान्तसम्ममा पुनः पानी वितरण गर्ने भनिएपनि त्यो सम्भावना न्यून देखिएको हो।
गत असार १ र साउन १६ गते चलेको बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा ठूलो क्षति पुगेको थियो। खासगरी बाढीका कारण आयोजनाको टनेल तथा हेडवर्क्समा गम्भीर क्षति भएको थियो।
मर्मतका लागि अझै केही समय लाग्ने हुँदा पानी नियमित आपूर्ति हुन पनि कुर्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास बोर्डले जनाएको छ। हेडवर्क्स र सुरुङको प्रवेशद्वार पुगेको गेग्य्रान हटाउन सरकारले सेना नै परिचालन गरेको छ ।
प्रभावित आयोजनाको मर्मतको काम भएकाले यति नै समयमा पानी आउँछ भन्न सकिने अवस्था नरहेको मेलम्ची खानेपानी आयोजना प्रमुख विष्णुदेव पौडेलले बताए । सकभर छिटो मर्मत गर्ने र पानी आपूर्ति नियमित गर्ने प्रयासमा रहेको उनले जानकारी दिए।
पौडेलका अनुसार खासगरी बाढीको प्रभाव आयोजनाको टनेल (पानी पठाउने सुरुङ) र हेडवर्क्समा परेको छ । टनेलको भित्रसम्म गेग्य्रान, ढुङ्गा, माटो तथा फोहोरहरू थुप्रिँदा सफाइमा समय लागेको पौडेलले बताए।
ठाउँ साँघुरो भएकोले निश्चित प्राविधिक सहितको टोलीले अहिले मेसिन लगाएर आयोजना प्रभावित क्षेत्रको लेदो तथा गेग्य्रान हटाउने काम गरिरहेको उनले जानकारी दिए ।