काठमाडौं। मजदुरहरू आन्दोलनमा उत्रिएपछि कञ्चनपुर–कमला चार लेन सडक योजनाको निर्माण आजदेखि ठप्प भएको छ। चाइना रेल्वे इञ्जिनियरिङ दुई कम्पनी चाँदनी चोकले माग सम्बोधनप्रति उदासिनता देखाएको भन्दै कार्यरत मजदुरहरू कामकाज छाडेर आन्दोलनमा उत्रिएका हुन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माण भइरहेको चार लेन सडक योजनाको निर्माण ठप्प भएको बताइएको छ। मजदुरहरूको ज्याला वृद्धि गर्नुपर्ने, स्वास्थ्योपचारका व्यवस्था मिलाउनुपर्ने, सुरक्षाको ग्यारेन्टी हुने औजार–उपकरण उपलब्ध गराउनुपर्ने, बास स्थानको उचित व्यवस्था गर्नु पर्नेलगायत माग राखी पटक–पटक कम्पनीको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि उनीहरू कामकाज छाडेर आन्दोलन उत्रिएका छन्।
मजदुर आन्दोलनका कारण सडक योजनाका लागि सञ्चालनमा रहेको सम्पूर्ण सवारी साधनसमेत कम्पनीभित्र थन्काइएका छन्। मजदुरले काम बहिष्कार गरी आन्दोलन सुरु गरेपछि सडक योजनाको कार्य दिनभरि ठप्प रहेको थियो। उनीहरूले कम्पनीमा कार्यरत इञ्जिनियरलाई मासिक रु ५० देखि ५५ हजार तलब दिनुपर्ने, सुपरभाइजरले दैनिक रु एक हजार ३०० देखि एक हजार ५०० ज्याला पाउनुपर्ने, कुनै पनि विधाका फूलमिस्त्रीलाई दैनिक रु एक हजार १५० देखि एक हजार २५० हाजिरी दिनुपर्ने, मिस्त्रीका लागि रु ८५० देखि ९५० सम्म दैनिक हाजिरी उपलब्ध गराउनुपर्ने, मजदुरको हकमा रु ७५० देखि ८५० सम्म दैनिक ज्याला दिनुपर्ने विभिन्न सवारीमा कार्यरत चालकलाई मासिक रु ४५ हजारदेखि ५० हजारसम्म तलब उपलब्ध गराउनुपर्ने अपरेटरहरूको रु ४० देखि ४५ हजार मासिक तलब बढाउनुपर्ने, विद्युतीकरण गर्ने कामदारहरुको लागि दैनिक रु एक हजार १५० देखि एक हजार २५० हाजिर उपलब्ध गराउनुपर्ने माग गरेका छन्।