काठमाडौं। बाँकेमा जति चुनावी सरगर्मी बढ्दै गएको छ त्यति नै विकासका काम पनि तीव्र गतिमा अघि बढ्दै गएका छन्। नेपालगञ्ज उपमहानगरपालिका–१८ मा धमाधम सडक निर्माणसँगै विकासका योजना तीव्र पारिएको छ। वडाको विकासका लागि वडाध्यक्ष दीपक बर्माले प्रदेश सरकारबाट ९० लाख बराबरका सात पिसिसी सडकको बजेट चालु आर्थिक वर्षमा ल्याएको थियो। सो बजेटबाट उपमहानगर पालिकामार्फत ठेक्का भई निर्माणको काम अघि बढेको हो।
उक्त बजेटबाट सुरु गरिएको एउटा पिसिसी ढलान सडकको निर्माण सम्पन्न भइसकेको अध्यक्ष बर्माले जानकारी दिए। उनले कार्यकालको अन्तिम समयमा पनि वडाभित्र एकसाथ सात सडक निर्माण गर्न थालेका छन। वडाको भगवती टोलमा वडाध्यक्ष बर्माले ३० लाखको लागतमा आरसिसी नालासहित पिसिसी सडक निर्माण गर्दै छन। सो बजेटबाट सात सडकमध्ये भगवती टोलमा दुई, उज्ज्वलनगर, शिवशक्ति टोल, शिवनगर, नागरिक टोल, विशाल चोक, मोडेल एकेडेमी टोलमा सडकको निर्माण अघि बढेको छ।
उनले यसबाहेक १३ भित्री सडकको पिसिसी सम्पन्न भएको उल्लेख गर्दै गरिब विपन्न र दलित परिवारका लागि ६५ धारा जडान गरेको समेत जानकारी दिए। वडाध्यक्ष बर्माले मुस्लिम, सुकुम्वासी र मधेसी समुदायका परिवारलाई १३७ घरेलु सौर्य सोलार जडान गरिएको सडक स्तरोन्नति कामसमेत भएको बताए। उपमहानगरपालिकाको वडा नं ६ मा पनि सडक पूर्वाधार लगायतका क्षेत्रमा काम भइरहेको छ।
वडा नं ६ का अध्यक्ष समीरप्रताप सिंहले दुई लाख ५० हजारदेखि तीन लाखसम्मका साना सडक निर्माण कार्य भइरहेको जानकारी दिए। सडकमा पिसिसी र ग्राभलिङको काम भएको छ। वडा नं १ का वडाध्यक्ष प्रमोद रिजालले सङ्घीय सरकारको बजेटमा सडक पूर्वाधारको काम भइरहेको जानकारी दिए। उनले २३ देखि २५ लाखसम्मका तीन सडक कालोपत्र र तीन सडक पिसिसी ढलान हुने कार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै चैत मसान्तभित्र सबै कार्य सम्पन्न हुने बताए।