काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेका छन्। भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहोरमा ध्यान दिन आग्रह गरेका हुन्।
उनले राजधानीलगायत सहरी क्षेत्रमा फोहरको समस्याको दिगो समाधानका लागि फोहरको प्रशोधन प्लान्ट स्थापना गरी त्यसबाट ग्यास तथा विद्युतीय ऊर्जा उत्पादन गर्न सकिने हुँदा यसतर्फ लाग्न स्थानीय निकायहरूलाई आग्रह गरे।
प्रधानमन्त्री देउवाले भने, ‘‘धरानलगायत कतिपय सहरमा फोहर प्रशोधन प्लान्ट निर्माण गरी ऊर्जा उत्पादन गरिएको र त्यस ऊर्जाबाट सवारी साधन समेत सञ्चालन गरिएका छन् । आफ्नै लगानीमा गर्न सकिने यस्ता प्रविधितर्फ लाग्न खोजेमा सरकारले पनि आवश्यक सहयोग गर्नेछ ।”
प्राकृतिक रूपमा सुन्दर राजधानी काठमाडौंमा फोहरको समस्याले सौन्दर्यतामा ह्रास आउनुका साथै अनेक रोगको सङ्क्रमण फैलने जोखिम रहने हुँदा फोहर व्यवस्थापनमा ध्यान दिनुपर्नेमा उनले जोड दिए।