काठमाडौं। प्रदेशमा निर्माण भइरहेको सडकका लागि बजेट अभाव भएको छ। बजेट अभावले सडक निर्माणमा गतिरोध कायम भएको हो।
किसान चोक–टाँडी–आइतबारे–रमिते–रवि सडक खण्डका लागि चालु आर्थिक वर्षमा निर्माण सम्पन्न गर्न बजेट अभाव भएको छ।
पूर्वाधार विकास कार्यालयले शर्मा/भिमेश्वर जेभी भक्तपुरले ठेक्का प्राप्त गरी निर्माण गरिरहेको १८.२५ किलोमिटर लामो उक्त सडकका लागि यसै वर्ष काम पूरा गर्न २४ करोड बजेट अभाव भएको जनाएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको ५ करोड बजेट निर्माण कम्पनीलाई भुक्तानी गरिसकिएकाले अब काम गर्नका लागि थप बजेट अभाव भएको बताइएको छ। निर्माण कम्पनीले काम सम्पन्न गर्ने अन्तिम मिति आउँदो असोजसम्म रहेकाले चालु आर्थिक वर्षमा सडक निर्माणको काम अघि बढाउनका लागि भए पनि न्यूनतम १२ करोड बजेट आवश्यक रहेको कार्यालयले जनाएको छ।
निर्माण कम्पनीले ५८ करोड ५६ लाख ८६ हजार रुपैयाँमा ठेक्का लिई २०७६ असोज २७ गते सम्झौता गरेर दुई वर्षमा सम्पन्न गर्ने गरी काम अघि बढाएको तर कोरोना महामारी र आवश्यक बजेट अभावमा भौतिक पूर्वाधार विकास कार्यालयले एक वर्ष म्याद थप गरेको हो।
निर्माण कम्पनीले चालु आर्थिक वर्षमा नै निर्माण कार्य सम्पन्न गर्ने गरी काम अगाडी बढाएको बताइएको छ। अहिलेसम्ममा दुई लेनको उक्त सडकअन्तर्गत तराई क्षेत्रमा भएको ७ किलोमिटर सडक निर्माण कम्पनीले कालोपत्रेको काम सम्पन्न गरेर पहाडी क्षेत्रमा बेस निर्माण गर्दै काम अगाडी बढाएको बताइएको छ।निर्माण कम्पनीले आरसीसी नाला, पाइप र स्ल्याब कल्भर्ट, ग्याबियन र ढुंगाको टेबा पर्खाल निर्माणको काम सम्पन्न गरिसकेको छ।