काठमाडौं। सुर्खेतको पूर्वी क्षेत्र जोड्ने बोटेचौर–भेडबारी–धुलियाबिट सडक ४६ वर्षसम्म पनि कालोपत्र हुन सकेको छैन। उक्त सडकको ट्रयाक २०३२ सालमा खोलिएको हो।
सो मदन भण्डारी राजमार्ग नामाकरण गरिए पनि अझैसम्म यात्रुहरूले जीर्ण सडकमै यात्रा गर्नुपर्ने बाध्यता छ।
सडक नबनेको भन्दै चौतर्फी आलोचना भएपछि सरकारले गत असार २८ मा सडक स्तरोन्नति गर्ने भन्दै ठेक्का खोलेको थियो। सडक कालोपत्र गर्न कालिका–केएस–जेभीसँग १अर्ब ३ करोड २३ लाख रुपैँया लागतमा सम्झौता भएतापनी अहिलेसम्म सुरु भएको छैन।
३० महिनामा काम सम्पन्न गर्ने भन्दै ठेकेदारले सडक निर्माणको जिम्मा लिए पनि अहिलेसम्म सामान्य कामसमेत हुन नसकेको स्थानीयले बताए। ३५ किलोमिटर दूरीको सडकमा रुख कटानमा ढिलाइ भएको भन्दै कम्पनीले काम सुरु नगरेको उनिहरुको भनाइ छ। ठेक्का भएका नौ महिना बितिसक्दा पनी काम सुरु भएको छैन। हिउँदमा धुलाम्य र वर्षामा हिलाम्य हुने भएकाले समस्या भएको उनिहरुले बताएका छन्।
अहिले डिभिजन वन कार्यालयले वन विभागको आदेशबिना रुख कटान गर्न नहुने भन्दै सडकको काम रोकेको छ।