रुकुम पूर्व। खानेपानी समस्यामा रहेका रुकुम पूर्वका सर्वसाधारणले तीन महिनामै योजना सम्पन्न गरेका छन्। साना साना योजना पनि तोकिएको समयमा सम्पन्न नभएपछि अलपत्र परेका बेला स्थानीयले तीन महिना नपुग्दै तीन खानेपानी योजना सम्पन्न गरेका हुन्।
मुहानदेखि ट्यांकी र घरघरमा धारा निर्माण र धारामार्फत घरघरमा पानी पुगेको छ। काम सुरु गरेको ८१ औं दिनमा योजनाका सम्पूर्ण काम सकेर घरघरमा पानी आउन सुरु गरेको हो। भूमे गाउँपालिका–३ का क्याङ्सी, तुन्वाङ र थाम गाउँका १ सय ४९ घरमा खानेपानी पुगेको छ। यी तीन गाउँमा तीन योजनामार्फत खानेपानी पुगेको हो। तीनमध्ये क्याङ्सी गाउँको योजना ८१ दिनमा, तुन्वाङको योजना ८० दिनमा र थाम गाउँको योजना भने ६३ दिनमै सम्पन्न भएको हो।
उक्त आयोजनाबाट ७७ घरधुरीमा खानेपानीका धारा निर्माण भएका छन्। एउटा विद्यालय र एउटा सामुदायिक भवनमा पनि खानेपानीको धारा बनेको छ। तुन्वाङका ४९ घरमा धारा बनेर खानेपानी आइरहेको छ। थाम गाउँका २३ घरपरिवारले घरमै खानेपानीको उपयोग गर्न पाइरहेका छन्।
मूमे गाउँपालिकाको सहकार्यमा गोर्खा वेल्फेर ट्रस्तको आर्थिक सहयोग र उपभोक्ताको श्रमदानबाट उक्त आयोजनाहरु सम्पन्न भएका हुन्। क्याङ्सी खानेपानी आयोजना ६४ लाख ९६ हजार ६ सय ४० रुपैयाँमा सम्पन्न भएको छ। यसमा ४० लाख ८३ हजार ६ सय ५० रुपैयाँ ट्रस्टको खर्च भएको छ। २४ लाख १२ हजार ९ सय ९० रुपैयाँ बराबरको श्रमदान उपभोक्ताले गरेका हुन्। ४५ लाख १० हजार ५ सय ६१ रुपैयाँमा सम्पन्न भएको तुन्वाङ खानेपानी आयोजनामा ट्रस्टले २७ लाख ३६ हजार २ सय ४३ रुपैयाँ लगानी गरेको छ भने उपभोक्ताका तर्फबाट १७ लाख ७४ हजार ३ सय १८ रुपैयाँ खर्च भएको छ। ७ लाख ७४ हजार ३ सय ९८ उपभोक्ताको र १४ लाख १४ हजार ट्रस्टको गरी २१ लाख ८९ हजार १ सय २७ रुपैयाँमा थाम गाउँको खानेपानी आयोजना सम्पन्न भएको हो।
लामो समयदेखि खानेपानीका कारण दुःख पाउँदै आएका आफूहरूलाई अब सजिलो भएको स्थानीयले बताएका छन्। सबैको घरमा २४ सै घण्टा पानी आउन थालेपछि सहज भएको उनिहरुको भनाइ छ। अब घरघरमा पानी पुगेपछि दैनिकी नै फेरिएको उनिहरु बताउछन्। निर्माण भएका सबै योजना उपभोक्तालाई हस्तान्तरण गरिसकेको बताइएको छ। सबै योजना लागत स्टिमेटभन्दा कम बजेटमा निर्माण भएको गाउँपालिकाले जनाएको छ।