काठमाडौं। डडेल्धुराको दुर्गम मलास सडक सञ्जालसँग जोडिएका छ। परशुराम नगरपालिका–७ मलास सडक सञ्जालसँग जोडिएको हो।
उक्त क्षेत्र तराईको निकटवर्ती सहर महेन्द्रनगरसँग मलास सडक सञ्जालमा जोडिएको हो। सडक नहुँदा मलासवासीले २ घण्टा पैदल हिँडेर अत्यावश्यक पर्ने नुन, तेल, चामललगायतका सामग्रीहरू महेन्द्रनगरबाट खरिद गरेर लैजानुपर्ने बाध्यता थियो भने बिरामीलाई डोकोमा बोकेर अस्पतालसम्म पुर्याउनु पर्ने बाध्यता थियो।
मलासवासीले परशुराम नगरपालिकाको वडा नम्बर ७ को कार्यालयसम्म पुग्न अझै तीन घण्टा र परशुराम नगरपालिका कार्यालय जोगबुढा पुग्न ७ घण्टाको यात्रा गर्नुपर्ने बाध्यता कायमै छ। अझ सामान्य नागरिकता लिन डडेल्धुरा बजारसम्म पुग्न त पूरै एक दिनसम्म लाग्ने गर्दछ। मलासवासीले नागरिकता बनाउनकै लागि तीन।चार दिनसम्म लगाउनुपर्ने अवस्था रहेको छ। तर मलासवासीले कञ्चनपुरको महेन्द्रनगर पुग्न भने एक घण्टा हिँडे पुग्न सक्ने भएका छन्। महेन्द्रनगरदेखि विष्णु मन्दिर हुँदै मलाससम्म सडक बनेपछि महेन्द्रनगरबाट मलास नियमित जिप सेवा सञ्चालन हुने भएको छ।
सडक बनेपछि डडेल्धुराका बड्डी मलास, पीपलकोट र कसानका स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन्। २०।२५ किलो पिठो, चामललगायतका खाद्य सामग्रीहरू महेन्द्रनगरबाट पिठ्युमा बोकेर डाडा काट्ने मलासवासीको समस्या ४० वर्षपछि हट्ने भएको छ। स्थानीयहरू आफ्नो क्षेत्रमा सडक र गाडी पुगेपछि खुशी भएका छन्।