बागलुङ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्डको कालोपत्र गरिने भएको छ। कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत मालढुंगा–बलेवा खण्डको १० किलोमिटर कालोपत्रका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेको हो ।
बागलुङ खण्डअन्तर्गत मालढुंगा–टाकुरी–पालुङखोला ३८ किलोमिटर सडक सडक विभागलाई हस्तान्तरण भइसकेको छ। हस्तान्तरण भएको ३८ किलोमिटर सडकमध्ये शुरूमा हस्तान्तरण गरिएको मालढुंगादेखि बलेवा विमानस्थलसम्मको सडक कालोपत्रका लागि अर्थ मन्त्रालयले बजेटको सुनिश्चितता गरी बहुवर्षीय ठेक्का प्रक्रियाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र पठाइसकेको अर्थ मन्त्रालयका शाखा अधिकृत सुशीला देवी भट्टले जानकारी दिइन्।
नेपाल सरकारले कालीगण्डकी कोरिडोरको गैंडाकोट–राम्दी–मालढुंगासम्म सडक कालोपत्रका लागि १ अर्ब एक करोड १८ लाख १७ हजार विनियोजन गरेको थियो। यसमध्ये बागलुङ खण्डअन्तर्गत मालढुंगा बलेवा विमानस्थलसम्मको १० किमी सडक कालोपत्रका लागि बहुवर्षीय ठेक्का प्रक्रियामा जान स्रोतको व्यवस्था भएको पत्र अर्थ मन्त्रालयले फागुन १८ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो ।
सडक विभागलाई हस्तान्तरण गरेको दुई वर्षमा बल्ल उक्त सडक कालोपत्रका लागि बजेट विनियोजन भएको हो । कोरिडोरअन्तर्गत मालढुंगादेखि बलेवा विमानस्थलसम्म १० किमी सडक १० मिटर चौडा बनाई विभागलाई २०७६ पुस १ गते हस्तान्तरण गरिएको थियो । कोरोनाका कारण ढिलाइ भएको बागलुङ खण्डको बलेवा विमानस्थलदेखि पालुङखोलासम्म २८ किमी सडक १० मिटर चौडा पार्ने कार्य सकिएर गत असारमा नेपाली सेनाले विभागलाई हस्तान्तरण गरेको थियो ।
कालोपत्र गर्न ढिलाइ भएकोमा नागरिकबाट गुनासो र आलोचना हुन थालेपछि अर्थ मन्त्रालयले बजेट निकासा गरेको हो । भारत र चीनसँग जोडेर त्रिदेशीय सम्पर्क सडकको रूपमा स्थापित हुने कोरिडोरको काम अगाडि बढ्ने अपेक्षा गरिएको छ ।