काठमाडौं। मेलम्ची नदीको पानी पुन पथान्तरण गरिएको छ। आज खानेपानी मन्त्री उमाकान्त चौधरीले १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरेका हुन्।
पानी पठाउन मंगलबार सुरु गरिए पनि काठमाडौंमा पानी उपलब्ध गराउन भने अझै दुई साता लाग्नसक्ने बताइएको छ । यस अघि भने चैत मसान्तसम्म काठमाडौंमा पानी पुर्याउने घोषणा गरिएको थियो।
गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । गत वैशाखमा मेलम्चीको १७ करोड लिटर पानी राजधानीमा वितरण गरिएको थियो ।
परीक्षणका लागि असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यसको भोलिपल्टै मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्ध बनेको थियो ।
अहिले सुरुङमा प्रतिसेकेन्ड २६५ लिटर पानी छोडिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।