काठमाडौं। भारतको झारखण्डमा केबलकार दुर्घटना भएपछि ४६ घन्टा रोकिएको केबलकारमा रहेका मानिसको उद्धार गरिएको छ। केबलकारमा अड्किएका ३ जनाको मृत्यु भएको छ भने बाँकी सबैको उद्धार गरिएको हो।
झारखण्डको देउघर जिल्लास्थित त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ एकापसमा ठोक्किएका थिए। केबलकार दुर्घटना भएपछि अन्य केबलकारहरु पनि जहाँको त्यहिँ रोकिएका थिए। केबलकारमा ४७ जना अड्किएका थिए।
भारतीय वायु सेनाको हेलिकप्टर, नेसनल डिजास्टर रेस्पोन्स फोर्सका सुरक्षाकर्मी, स्थानीय अधिकारीको सहायतामा केबलकारमा फसेकाहरूको ४६ घन्टापछि उद्धार गरिएको भारतीय गृह मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार केबलकारमा फसेकामध्ये २ महिलासहित ३ जनाको ज्यान गएको छ।
केबलकारमा फसेकाहरूलाई ड्रोनको साहयताबाट खानेकुरा पठाइएको थियो।